काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन आगामी वैशाखमा हुने भएको छ ।
महासंघको चैत्र २७ गते बसेको पदाधिकारी समितिको बैठकले वैसाख २१ र २२ गते साधारणसभा एवं निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि महासंघको साधारणसभा चैत्र २९ र ३० गतेका लागि तय भएको थियो । तर उच्च अदालत पाटनले निर्वाचन बाहिर रहेका बस्तुगत महासंघलाई निर्वाचनमा सहभागी गराउन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित थियो । महासंघको सदस्याताबाट बन्चित भएका र पाटन उच्च आदलतबाट सदस्यताको लागि अन्तरिम आदेश पाएका वस्तुगत संघहरूले आफूहरूलाई तत्काल मताधिकारसहित अधिकार दिन माग गरेका छन् ।
बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश दिएको थियो । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरी महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनको लागि एउटा साधारणसभामा भाग लिएको हुनुपर्ने र आफूहरूले महासंघको विशेष साधारणसभा र ५९औं वार्षिक साधारणसभामा भाग लिइसकेको बताएका छन् । साथै, सदस्यताका सबै दस्तुर तिरिसकेकोले मताअधिकार पाउनुपर्ने उनीहरूको माग छ ।