काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले एनआईबीएल सहभागिता फन्डका इकाइहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जानकारी गराएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईएमबीएस क्यापिटल लिमिटेड विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएको छ । कम्पनीले म्युचुअल फन्ड, पोर्टफोलियो व्यवस्थापन, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयर प्रत्याभूति तथा रजिस्ट्रार सेवा प्रदान गर्दै आएको छ ।
उक्त कम्पनीद्वारा व्यवस्थापन गरिएको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फन्ड’ नेपालकै पहिलो खुलामुखी म्युचुअल फन्ड हो, जुन धितोपत्र बोर्डद्धारा जारी सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भएको हो। २०७६ असार २४ गते सुरु भएको यो योजना इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट तथा ट्रेजरी बिल जस्ता उपकरणमा लगानी गर्दै आएको छ । खुलामुखी प्रकृतिका कारण यो फन्ड नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत छैन र सिधै योजना व्यवस्थापकमार्फत खरिद–बिक्री गर्न सकिन्छ ।
प्रारम्भमा छ अर्ब रुपैयाँ (६० करोड इकाइ) आकार रहेको यस योजनालाई नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि २०८२ चैत ५ गतेदेखि बढाएर १० अर्ब रुपैयाँ (एक अर्ब इकाइ) पुर्याइएको छ । यससँगै यो फन्ड नेपालका म्युचुअल फन्डहरूमध्ये सबैभन्दा ठूलो बनेको छ । हाल नेपालमा ४३ बन्दमुखी र १३ खुलामुखी म्युचुअल फन्ड सञ्चालनमा छन् । बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण लामो समयसम्म इकाइधनीहरूको इकाइ हितग्राही खातामा जम्मा हुन सकेको थिएन । तर २०८२ माघ २ गते जारी निर्देशिका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि अब इकाइहरू डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताहरूले आफ्नो ‘मेरो सेयर’ लगइन गरी इकाइहरू सफलतापूर्वक क्रेडिट भएको पुष्टि गर्न सक्नेछन् । साथै, इकाइ डिम्याट खातामा जम्मा गर्न ढिलाइ भएकोप्रति कम्पनीले क्षमायाचना गर्दै लगानीकर्ताहरूको धैर्यता र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ ।