काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले वनस्पति दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छिन् ।
जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताउँदै मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन् ।
उनले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र सङ्कटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन् ।
जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको मन्त्री चौधरीले बताइन् ।
उपलब्ध जडीबुटीबाट देशमा औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पुर्याउनुपर्ने बताइन् ।