मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले नेपाल पत्रकार महासङ्घले आइतबार आयोजना गरेको पत्रकार भेटमा देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए ।
सभामुख अर्यालले संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए । “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।
कानुन निर्माणको प्रक्रियालाई जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए ।