काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा उपलब्ध जडीबुटीको प्रशोधन गरी निर्यात गर्नेपर्ने बताएकी छिन् ।
वनस्पति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नेपर्नेमा जोड दिएकी हुन् । त्यसको लागी सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पुर्याउनुपर्ने बताइन् । उनले भनिन्, ‘नेपाल जैविक विविधतामा धनी राष्ट्र हो, विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्वपूर्ण स्थानमा छ । तर अझै पनि कच्चापदार्थको रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ ।’ मन्त्री चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका लागि गर्नुपर्ने बताइन् । साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको उल्लेख गरिन् ।
जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने उनको भनाइ छ । मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै उनले समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन् । साथै उनले बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक संकेत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालबाट हाल वार्षिक औसत १ अर्ब २४ करोड रुपैयाँ बराबरको जडीबुटी निर्यात हुने गरेको छ । यसमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै निर्यात हुने गरेको जनाइएको छ । नेपालमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार क्षेत्रमा उच्च सम्भावना रहे पनि यसको पर्याप्त उपयोग हुन नसकेको छैन । वनस्पति विभागका अनुसार हालसम्म देशभर ८१९ प्रजातिका जडीबुटी पहिचान भएका छन्, जसमध्ये ३३ प्रजातिलाई आर्थिक विकासका लागि प्राथमिकतामा राखिएको छ । विभागका अनुसार खेती प्रविधिका लागि १३ प्रजाति सिफारिस गरिएका छन् भने करिब १२० प्रजातिको खेती भइरहेको छ । त्यस्तै, करिब २०० प्रजातिबाट सुगन्धित तेल (इसेन्सियल आयल) उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।
नेपालमा पाइने २५० भन्दा बढी जडीबुटी प्रजाति भविष्यमा व्यापारिक रूपमा उपयोग गर्न सकिने सम्भावना रहेको छ । जडीबुटी तथा गैरकाष्ठ वन पैदावारले नेपालको कुल वैदेशिक निर्यातको करिब १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सरकारले ‘हिमालयन हब्र्स’ ब्रान्डिङमार्फत जडीबुटी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।