काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ ।
नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो । जगदम्बा मोटर्सले शनिवार एनटर्क ओनर्स ग्रुप (एनओजी) राइडको आयोजना गरेको हो । कम्पनीको नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो । राइडमा ५० जना ग्राहक, २० जना कन्टेन्ट क्रिएटर र मोटो भ्लगर गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । ‘यो कार्यक्रम केवल एउटा यात्रा मात्र नभई एनटर्क प्रेमीहरूका लागि एक साम्प्रदायिक उत्सव नै थियो’, कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार सहभागीहरूले सुरक्षित यात्रा र सामूहिक राइडिङसम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक–आपसमा आफ्ना अनुभवहरू समेत साटासाट गरेका थिए । मनोरञ्जनका लागि विभिन्न खेल र गतिविधिहरू समावेश गरिएको उक्त कार्यक्रममा विजेताहरूलाई आकर्षक उपहार र सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपालमा एक लाख ५० हजार चालकहरूको साथ पाउनु टीभीएस एनटर्कका लागि गौरवको विषय भएको बताए । ‘यो हाम्रा ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण हो । हामीले यो एनओजी राइडमार्फत ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मनोरञ्जनात्मक र जिम्मेवार राइडिङको अनुभव प्रदान गर्ने प्रयास गरेका छौँ’, उनले भने ।