काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत्को निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसंगको भेटमा उनले सरकारले जलाशय तथा नविकरणीय ऊर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको उनले बताए । ऊर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा पनि निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेको उल्लेख गरे । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ्ग चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युत्को आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाव दिए ।
नेपाल सरकारबाट स्वीकृती लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत् खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) गर्न, विद्युत्को आन्तरिक खपत बढाउने नीति लिन, जीवाश्म इन्धन आधारित उद्योगलाई विद्युत्मा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न उनले आग्रह गरे । वैकल्पिक ऊर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा उनले जोड दिए । छलफलमा उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।