काठमाडौं । सिंगो मुलुक अर्थात् देशको लागि विसंं २०८२ साल नेपालका लागि उतारचढावले भरिएको वर्षको रूपमा आजको दिनदेखि विगत अर्थात् इतिहासमा दर्ज भएको छ । राजनीतिक अस्थिरता, आर्थिक चुनौती, सामाजिक रूपान्तरण, प्राकृतिक विपत्ति र केही सकारात्मक उपलब्धिहरूको मिश्रणले यो वर्षलाई न सम्झन लायक बनायो, न बिर्सन लायक नै बनायो ।
वर्षभरिका घटनाक्रमलाई समग्र रूपमा फर्केर हेर्दा मुलुक अझै संक्रमणकालीन अवस्थाबाट पूर्णरूपमा बाहिर ननिस्किएको, तर सुधारका संकेतहरू देखिन थालेको निष्कर्ष निकाल्न सकिन्छ । विसंं २०८२ साल राजनीतिक रूपमा निकै अस्थिर रह्यो । सरकार गठन र विघटनको क्रम निरन्तर चलिरहँदा नीति निर्माण र कार्यान्वयनमा ढिलाइ देखियो । गठबन्धनको समीकरण बारम्बार परिवर्तन हुँदा दीर्घकालीन योजना भन्दा तत्कालीन शक्ति सन्तुलनलाई प्राथमिकता दिइयो । यसले प्रशासनिक संयन्त्रमा समेत असर पारेको देखियो । संघीय संरचना कार्यान्वयनको करिब एक दशक नजिकिँदै गर्दा पनि केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको स्पष्ट विभाजनमा अझै विवाद कायम रह्यो । कतिपय प्रदेश सरकारहरू कमजोर बने, जसले संघीयताको प्रभावकारितामाथि प्रश्न उठायो । यद्यपि, केही क्षेत्रमा स्थानीय तहले सेवा प्रवाहमा सुधार ल्याउने प्रयास पनि गरेका छन् । यही वर्ष भदौ २३ र २४ गते जेनी जी आन्दोलन भयो । आन्दोलनकै क्रममा ७१ जना निहत्था किसोर किशोरीहरू मारिए, सिंहदरवार जल्यो, संसद् जल्यो, सर्वोच्च अदालत जल्यो । यो वर्ष धेरै कुराहरू जल्यो । सरकारी र नीजि क्षेत्रमा गरी जेनजी आन्दोलनकै क्रममा झण्डै एक खर्ब रुपैयाँबराबरको आर्थिक तथा भौतिक क्षति भयो ।
मुलुकलाई राजनीतिक निकास दिन संसद् विघटन गरी पूर्वन्यायधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । त्यही सरकारले २०८२ फागुन २१ गते सफलतापुर्वक निवार्चन सम्पन्न गर्यो । कार्की नेतृत्वको सरकारले निर्वाचित नेतृत्वलाई सरकार हस्तान्तरण ग¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बालेन नेतृत्वको सरकार बनेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे । १४ दिन हिरासतमा बसेर उनीहरू छुटे । शेर बहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको विषयमा सम्पत्ति शुद्धीकरणमा मुद्दा प¥यो । पक्राउको लागि इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भयो ।
आर्थिक अस्थिरता, कमजोर अर्थतन्त्र
आर्थिक क्षेत्रमा २०८२ साल चुनौतीपूर्ण रह्यो । आर्थिक वृद्धिदर अपेक्षित स्तरमा पुग्न सकेन । आयात उच्च र निर्यात कमजोर रहँदा व्यापार घाटा बढ्दै गयो । वैदेशिक रोजगारीमा निर्भरता यथावत् रहँदा रेमिट्यान्सले अर्थतन्त्रलाई धाने पनि उत्पादनशील क्षेत्रमा लगानी न्यून देखियो ।
बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापन चुनौतीपूर्ण रह्यो । ब्याजदरको उतारचढावले निजी क्षेत्रलाई प्रभावित गर्यो । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् । निर्माण क्षेत्र, जलविद्युत् र पर्यटनमा केही सुधार देखिए पनि समग्र आर्थिक गतिविधि अझै सुस्त नै रह्यो ।
मुद्रा स्फीति अर्थात् महंगी बढ्दा सर्वसाधारणको दैनिक जीवन कठिन बन्दै गयो । खाद्यान्न, इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले मध्यम तथा न्यून आय भएका वर्गलाई बढी मार प¥यो । सरकारद्वारा केही राहत कार्यक्रम घोषणा भए पनि प्रभावकारी कार्यान्वयनमा कमी देखियो ।
सामाजिक अवस्था : परिवर्तन र चुनौती सँगसँगै
सामाजिक क्षेत्रमा केही सकारात्मक परिवर्तन देखिए पनि चुनौतीहरू कायम रहे । शिक्षामा पहुँच विस्तार भए पनि गुणस्तर सुधारमा अपेक्षित प्रगति हुन सकेन । सार्वजनिक विद्यालयहरूको अवस्था अझै कमजोर रहँदा निजी विद्यालयतर्फ निर्भरता बढ्दै गयो ।
स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भए—विशेष गरी ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार—तर दक्ष जनशक्ति र उपकरणको अभाव यथावत् रह्यो । स्वास्थ्य सेवा अझै महँगो र असमान रूपमा वितरण भएको देखियो ।
युवा जनशक्ति पलायनको प्रवृत्ति अझै तीव्र रह्यो । रोजगारीको अवसर अभावका कारण युवाहरू विदेशिने क्रम रोकिएन । यसले दीर्घकालीन रूपमा देशको उत्पादनशील क्षमतामा असर पर्ने चिन्ता बढाएको छ ।
पूर्वाधार र विकास : थोरै उपलब्धि धेरै काम बाँकी
पूर्वाधार विकासमा २०८२ साल मिश्रित रह्यो । केही ठूला आयोजना सम्पन्न भए वा अन्तिम चरणमा पुगे, जसले आशा जगाएको छ । सडक, पुल र जलविद्युत् क्षेत्रमा प्रगति देखियो । ऊर्जा उत्पादन बढ्दै जाँदा विद्युत् निर्यातको सम्भावना पनि बढेको छ । तर, धेरै आयोजनाहरू ढिलासुस्ती, लागत वृद्धि र व्यवस्थापन कमजोरीका कारण समयमै सम्पन्न हुन सकेनन् । ठेक्का प्रणालीमा पारदर्शिताको अभाव र अनुगमन कमजोर हुँदा विकासको गति अपेक्षाकृत सुस्त रह्यो ।
प्राकृतिक विपत्ति र वातावरण : चेतावनीको वर्ष
२०८२ साल प्राकृतिक विपत्तिका दृष्टिले पनि संवेदनशील रह्यो । मनसुनका बेला बाढी, पहिरो र डुबानले धेरै जिल्लामा जनधनको क्षति ग¥यो । जलवायु परिवर्तनको प्रभाव अझ स्पष्ट रूपमा देखिन थाल्यो—असमय वर्षा, तापक्रम वृद्धि र हिमाली क्षेत्रमा हिउँ पग्लिने दरमा वृद्धि ।
सरकारले विपद् व्यवस्थापनमा केही सुधारका प्रयास गरे पनि तयारी र पूर्वानुमान प्रणाली अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखियो । स्थानीय स्तरमा जोखिम न्यूनीकरणका कार्यक्रमहरू अझै पर्याप्त रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
सुशासन र भ्रष्टाचार : पुरानै चुनौती
सुशासनको सवालमा २०८२ साल उल्लेखनीय सुधार ल्याउन सकेन । भ्रष्टाचारका घटनाहरू सार्वजनिक भइरहे, तर कारबाही प्रक्रिया ढिलो र कमजोर देखियो । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, घुसखोरी र राजनीतिक हस्तक्षेपका गुनासा यथावत् रहे ।
डिजिटल सेवा विस्तार गर्ने प्रयासले केही क्षेत्रमा पारदर्शिता बढाएको भए पनि समग्र रूपमा सुशासन सुधार अझै प्राथमिक चुनौतीकै रूपमा रहेको छ ।
परराष्ट्र नीति : सन्तुलनको प्रयास
परराष्ट्र नीतिमा नेपालले सन्तुलित कूटनीति अपनाउने प्रयास ग¥यो । छिमेकी मुलुकहरूसँग सम्बन्ध सुदृढ बनाउने र आर्थिक सहकार्य बढाउने पहल देखियो । बहुपक्षीय मञ्चहरूमा नेपालको सहभागिता सक्रिय रह्यो । तर, वैदेशिक लगानी भित्र्याउन नीतिगत स्थायित्व र प्रशासनिक सहजता आवश्यक रहेको सन्देश वर्षभरि दोहोरिरह्यो ।
चुनौतीका बीचमा पनि सम्भावना
विसंं २०८२ साललाई फर्केर हेर्दा नेपालले धेरै चुनौतीहरूको सामना गरेको स्पष्ट हुन्छ । राजनीतिक अस्थिरता, आर्थिक सुस्तता, सामाजिक असमानता र सुशासनको अभाव जस्ता समस्याहरू अझै समाधान हुन बाँकी छन् ।
तर, यसैबीच केही सकारात्मक संकेतहरू पनि देखिएका छा । ऊर्जा क्षेत्रमा प्रगति, पूर्वाधार विकासमा सुधार, स्थानीय तहको सक्रियता र डिजिटल सेवाको विस्तार । यी आधारहरूलाई मजबुत बनाउन सकेमा आगामी वर्षहरूमा सुधारको सम्भावना बलियो छ ।
साचो अर्थमा भन्नु पर्दा २०८२ सालले नेपाललाई एउटा स्पष्ट सन्देश दिएको छ । स्थायित्व, पारदर्शिता र दीर्घकालीन दृष्टिकोणविना दिगो विकास सम्भव छैन । अबको बाटो चुनौतीपूर्ण भए पनि अवसरहरूले भरिएको छ, जसलाई सही नीति र दृढ नेतृत्वले मात्र उपयोग गर्न सक्नेछ । यो जिम्बेवारी अहिले रास्वपा नेतृत्वको सरकार त्यसमाथि पनि प्रधानमन्त्री बालेन साहको काँधमा पुगेको छ ।