काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारबारेको त्रैमासिक तथ्यांकले नेपालको रियलस्टेट कारोबारमा मौसमी प्रवृत्ति देखाएको छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा न्यून र तेस्रो तथा चौथो त्रैमासिकमा रियल–स्टेट कारोबार उच्च हुने देखाएको हो ।
यसअनुसार कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ भने त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको प्रतिवेदनले देखाएको छ ।
कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य (थैली रकम)का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा २३.७ अर्बसम्म पुगेको थियो। त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासिकमा रु.८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब रु.१५ अर्बसम्म पुगेको छ ।
रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्यांकबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ । उपर्युक्त तथ्यांकका आधारमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत गरिरहेको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले रियल–स्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी तथ्यांक प्रकाशन सुरु गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्षको रूपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक प्रकाशन गर्न सुरु गरेको जनाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकले संकलन गर्ने तथ्यांकका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्यांक त्रैमासिक रूपमा प्रकाशन गरिने जनाइएको छ ।
रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा गरिएको छ । रियल–स्टेट कारोबारको संख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जाजस्ता तथ्यांकका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
रियल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ । साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको संख्या र थैली रकम तथ्यांकलाई प्रस्तुत गरिएको छ ।