काठमाडौं । दैलेखमा प्रादेशिक महोत्वस हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ वैशाख ७ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको थियो । कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिने उद्देश्यका महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा १८० स्टलहरु रहने नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष एम मल्लले जानकारी दिए । १८० मध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टलहरु रहनेछन् । महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । जिल्लाका विभिन्न कला संस्कृति झल्कने झाँकी तथा नाचहरु र स्थानीय उत्पादन र उत्पाद गर्न सक्ने सम्भावनाका क्षेत्रहरु पहिचान गरेर लगानी भित्र्याउने लक्ष्य पनि लिइएको मल्लको भनाइ छ ।
संघका पूर्व अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा जानकारी दिइने बताए । कृषि, जलविद्युत्, पर्यटनका हिसाबले दैलेख महत्वपूर्ण जिल्लाका रुपमा रहेको बताए । जिल्लामा सुन, तामालगायतका खानी भएकाले त्यसयको उत्खनन गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनले बताए । उनले पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्नेतर्फ उचित ध्यान सरकारसंग आग्रह गरे ।
जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउनका लागि पनि यो महोत्सव महत्वपूर्ण हुने बताए । जिल्लाको पेट्रोेलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन चैतबाट नै सुरु गर्ने भनिएको भए पनि अहिले अलपत्र परेको उनीहरुको गुनासो छ । दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीले जीवन, भुगोल, भाषा, संस्कृति, भेषभुषाका कारण दैलेख विना देश नै अधुरो हुने धारणा व्यक्त गरे । समाजका सचिव सूर्य बस्नेतले पेट्रोलियम पदार्थ उत्खनन गर्न सकियो भने मात्रै पनि दैलेखमात्रै नभएर देशले नै काचुली फेर्ने बताए ।