काठमाडौं । कोरियन एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनमा ५६ करोडको लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योग बनाउने भएको छ ।
कम्पनीले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा नयाँ ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास गरेको हो । सोमबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होङ सङ–बु ले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन् । मेयर सापकोटाले आफ्नो नगरपालिका क्षेत्रभित्र नयाँ उद्योग खोल्दा स्थानीय तहको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्री उत्पादनले आत्मनिर्भरता बढ्ने पनि सापकोटाले बताए । ‘नगरपालिका क्षेत्रभित्र उद्योग स्थापनामा गर्न चाहने लगानीकर्तालाई के–के सहयोग आवश्यक पर्छ, त्यसमा सहजीकरण स्थानीय तहले गर्छ, तर, रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई हुनुपर्छ, प्रत्यक्ष विदेशी लगानी रहेको एसवाईले एक चरणको सफलता पार गरिसकेको छ, आगामी दिनमा अझ सशक्त भएर ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास छ’, उनले भने ।
यूपीभीसी उद्योग स्थापना भएपछि चितवनसहित आसपासका जिल्लामा औद्योगिक विकासले थप गति लिने उनले बताए । यस्तै, उक्त उद्योग सञ्चालनमा आइसकेपछि सकेपछि नेपालमै अत्याधुनिक प्रविधिबाट गुणस्तरीय यूपीभीसी ढोका, झ्यालका प्रोफाइल तथा अन्य निर्माण सामग्री उत्पादन हुने बताइएको छ । परम्परागत काठ तथा फलामका सामग्रीको विकल्पका रूपमा यूपीभीसी उत्पादनहरू टिकाउ, हल्का र वातावरणमैत्री मानिने र नेपालमा बजारमा यसको अवस्थालाई मूल्याङक गर्दै कम्पनीले यो उद्योग निर्माण गरेको हो । यूपीभीसी टिकाउ, पानी निरोधक, किफायती तथा वातावरणमैत्री भएकाले यही उत्पादित सामग्रीको प्रयोग बढ्ने अपेक्षा कम्पनीले राखेको छ । सोही क्रममा कम्पनीका सीईओ होङ सङ–बुले चितवनमा स्थापना हुने यूपीभीसी प्रोफाइल कारखाना कोरियाको अत्याधुनिक प्रविधि र नेपालको गतिशील जनशक्तिको संगमबाट जन्मिएको आशाको केन्द्र हुने बताए ।
कोरिया र नेपालबीचको आर्थिक सहयोगलाई अझ मजबुत बनाउने र चितवन क्षेत्रको विकासका लागि उत्प्रेरकको काम गर्ने पनि सीईओ सङ–बुको भनाइ छ । ‘नेपालमा राजनीति स्थिरताको हुँदैछ र आर्थिक विकासका ढोकाहरू खुल्दै छन्, यस अवसरको लहरमा एसवाईले नेपाल सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्न र उन्नत प्रविधि हस्तान्तरण गर्न नेतृत्वदायी भूमिका खेल्नेछ’, उनले भने । उनले एसवाई निर्माण सामग्रीभन्दा माथि उठेर सौन्दर्य र दैनिक उपभोग्य वस्तुहरू समेत समेट्ने परिवार मैत्री कम्पनी बन्न चाहाने पनि बताए । साथै, केही समय अघिमात्रै एसवाई प्यानल नेपालले आईपीओ जारी गरेको थियो । सोही आईपीओबाट उठेको पैसा सदुपयोग गर्दै कम्पनीले उक्त यूपीभीसी उद्योग खोल्ने योजना अनुरूप काम अगाडि बढाएको हो । कम्पनीका अनुसार उद्योगको अनुमानित लागत ५६ करोड रुपैयाँ रहेको छ । ‘एसवाई प्यानल नेपालको आईपीओ अंकित मूल्यभन्दा २२ गुणा बढीले सेयर मूल्य बढ्नु भनेको एसवाईप्रतिको विश्वास र नेपालको आर्थिक वृद्धिप्रतिको जनताको चाहना थियो भन्ने मलाई लाग्छ, त्यो विश्वासको कदर गर्दै मैले लिस्टिङबाट प्राप्त सम्पूर्ण रकम पुनः नेपालकै माटोमा लगानी गर्ने निर्णय गरेको हुँ’, सीईओ सङ–बुले भने ।
अन्तर्राष्ट्रिय गुणस्तरमा ध्यान दिँदै उत्पादन यहाँबाट यूपीभीसीका प्रडक्ट उत्पादन गरिने भएकाले नेपाली उत्पादित सामग्री विदेशी बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ । ६ महिनाभित्र उद्योगको भौतिक संरचनाको काम सकेर उत्पादन गर्ने सुरु गर्ने लक्ष्य राखेको यस कम्पनीले स्वदेशमै गुणस्तरीय सामग्री उपलब्ध हुँदा आयातमा निर्भरता घट्ने पनि विश्वास राखेको छ । प्रत्यक्ष कोरियन लगानी रहेको एसवाई प्यानल नेपालले रत्ननगरमै प्यानलका प्रडक्ट पनि उत्पादन गर्दै आएको छ ।