काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुनेछ ।
नयाँ समायोजनअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
मूल्यवृद्धिपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर दुई सय ३४ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गमा यो मूल्य दुई सय ३६ रुपैयाँ र तेस्रो वर्गमा दुई सय ३७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय ५१ रुपैयाँबाट बढेर दुई सय ५६ रुपैयाँ पुगेको निगमले जनाएको छ ।