काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार पुराना सबै मन्त्री हटाएर नयाँ नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलबाट सहमतिका आधारमा नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । दुवै दलले ४÷४ जना मन्त्री पाएका छन् । नियुक्त हुनेमा मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र रेखा गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन् ।
त्यस्तै, एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री नियुक्त भएका छन् ।