काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल–स्टेट कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्यांक प्रकाशन सुरु गरेको छ । आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार पारिएको यो तथ्यांक अबदेखि त्रैमासिक रूपमा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग तथा राष्ट्र बैंक स्वयंले संकलन गर्ने सूचनाका आधारमा तयार गरिने यो विवरणले देशभरको घरजग्गा कारोबारको यथार्थ चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकका अनुसार रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारलाई आधार मानेर गरिएको हो । यसमा कारोबार संख्या, कारोबार मूल्य, क्षेत्रफल, राजस्व संकलन तथा बैंक कर्जाको अवस्थाजस्ता सूचक समेटिएका छन् । तथ्यांकलाई राष्ट्रिय, प्रादेशिक, महानगरपालिका तथा उप–महानगरपालिका स्तरसम्म विश्लेषण गरिएको छ ।
त्रैमासिक विवरणले घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखाएको छ । पहिलो त्रैमासमा कारोबार न्यून रहने तर तेस्रो र चौथो त्रैमासमा उच्च हुने देखिएको छ । प्रदेशगत रूपमा हेर्दा कारोबार संख्यामा मधेश प्रदेश अग्रस्थानमा छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार न्यून देखिएको छ । जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी देखिएको छ । अन्य प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू बढी कारोबार हुने गरेको पाइँदा मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा कारोबार बढी हुने गरेको तथ्यांकले देखाएको छ ।
घोषित मूल्य (थैली रकम) का आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका जग्गा सबैभन्दा बढी किनबेच हुने गरेको छ । यसैबीच, आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२ दशमलव ४१ प्रतिशत र आवासीय कर्जा ६१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्ब रुपैयाँ पुगेकोमा त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.९ अर्ब रुपैयाँमा झरेको थियो । पछिल्लो अवधिमा भने सुधार हुँदै २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले यस्तो तथ्यांक प्रकाशनबाट रियल–स्टेट क्षेत्रको गतिविधि विश्लेषणमा सहजता आउने विश्वास व्यक्त गरेको छ । साथै, यी तथ्यांकका आधारमा आगामी चरणमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने तयारीसमेत अघि बढाइएको जनाएको छ ।