काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काइवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ । स्काइवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो ।
कम्पनीका अनुसार नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा वैशाख १५ गतेसम्म पाँच सय रुपैयाँमा स्काइवाक चढ्न पाइने भएको छ । यसअघि स्काइवाक चढ्नको लागि एक हजार रुपैयाँ लाग्ने गरेको थियो । ‘नयाँ वर्षलाई विशेष बनाउन यो अफर ल्याइएको हो । सामान्य टिकट मूल्यमा आधा छुट पाएपछि धेरै परिवार, साथिभाइ र पर्यटकले यो ठाउँ घुम्न सजिलो हुनेछ । साथै नयाँ वर्षमा क्वालिटी टाइम पनि बिताउन सकिन्छ’, स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले भने । स्काइवाक नेपाल हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहन्छ । टिकट टावरमै किन्न सकिन्छ । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौं आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । यहाँबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, सहिदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ ।
टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भुँइ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक बिष्णुहरि पाण्डेले बताए । स्काइवाकमा प्रतिवर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरू राखिएको छ । टावरको माथि पुग्नका लागि दुईवटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक पाँच सय जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ । पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ ।