तानसेन (पाल्पा) । कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बस्यालको हिजो बुधबार र भुसालको आज बिहीबार बिहान शव फेला परेको जानकारी दिए । उनीहरु मङ्गलबार नयाँवर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी उनीहरुको शव फेला पारेको प्रनाउ चौधरीले बताए ।
भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए भने बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् । दुवै मृतक एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।