दोलखा । यतिबेला जिरीका वनजङ्गल मौसमी गुराँस जातका चिमाल र गुराँस फुलेर ढकमक्क छन् । जिरी नगरपालिका क्षेत्रको विभिन्न वन जङ्गलमा फुलेका अनेकौं रङ्गका चिमाल र गुराँस हेर्न पर्यटकहरू सो क्षेत्रमा पुग्ने गरेका छन् । यहाँको ठुलोनागी वन क्षेत्रमा एउटा चौर वरपर थरथरीका विभिन्न रंगीचंगी गुराँस र चिमालका मात्रै बोट रहेका छन् ।
गुराँसले प्रसिद्ध मानिने गुराँस पार्कमा गुराँस र चिमाल फुल हेर्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक दर्जनौं आन्तरिक पर्यटक गुराँसको सेतो र रातो जातको फुल हेर्न तथा फोटो भिडियो खिच्न त्यहाँ पुग्ने गरेको स्थानियको भनाइ छ । नयाँ वर्षको दिन वैशाख १ गते मात्रै करिब दुई हजार आन्तरिक पर्यटक गुराँस पार्क पुगेका थिए । अन्य दिन पनि पर्यटक गुराँस पार्क पुग्ने गरेका छन । चारैतिर गुराँस र चिमालजातका रुख बुट्यानसँगै वर्षौं पुराना अग्लाअग्ला सल्लाका रुखले घेरिएको गुराँस पार्कको मनमोहक दृश्यले जोकोहीको मन लोभ्याउने गर्छ । तर गत वर्षको तुलना २५ प्रतिशत कम गुराँस फुलेको यस क्षेत्रका स्थानिय बताउँछन् ।
सदरमुकाम चरिकोटदेखि करिब ३३ किलोमीटर नजिक रहेको उक्त पार्क समुन्द्री सतहदेखि करिब २८ सय मिटर उचाइमा फैँलिएको छ । प्रकृतिको अनुपम सौन्दर्यसँगै बनचरिको सुमधुर आवाज र जिरी नगरले व्यवस्थापन गरेका कृत्रिम संरचनाले गुराँस पाकर्को सुन्दरतालाई थप आकर्षक बनाएको छ । चैत्र वैशाखतिर ढकमक्क गुराँस फुल्दा यहाँको वातावरण निकै मनमोहक हुने गर्दछ । लालिगुराँस र चिमालसँगै यहाँ चौँरी र चराचुरुङ्गी चरिरहेको भेटिन्छन् । साथै छिनछिनमा परिवर्तन हुने मौसमले त्यहाँ पुग्ने पर्यटनले सरप्राइज दिने गरेको छ । गुराँस पार्क क्षेत्रमा ठुलो कृत्रिम पोखरी, ट्रस्टको टहरा, ट्वाइलेट पिकनिक स्पटलगायत संरचना बनाइएको छ । पोखरीमा भगवान् शिवको मूर्तिसँगै पिउने पानीको धारा निर्माण गरिएको छ । गुराँसपार्कमा मुख्यतया दोलखा र रामेछापबाट आन्तरिक पर्यटक पिकनिक, हाइकिङको लागि पनि आउने गरेका छन् ।