काठमाडौं । एफवानसफ्ट इन्टरनेसनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । योसंगै लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका सह–संस्थापक तथा निर्देशक सुवास शर्माले पद हस्तान्तरण गरेका छन् ।
शर्माले एक दशकभन्दा बढी समय सीईओका रूपमा काम गरेका थिए । उनी अब निर्देशकको भूमिकामा रहँदै कम्पनीको रणनीतिक दिशानिर्देशनमा संलग्न हुनेछन् । नवनियुक्त प्रमुख कार्यकारी पौडेल हाल फोनेक्स्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनी एफवानसफ्ट समूहमा प्रवेश गर्नुअघि नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै भुक्तानी प्रविधि व्यवस्थापन तथा डिजिटल रूपान्तरण कार्यक्रमको नेतृत्व गरेका थिए । उनी दुई दशकभन्दा बढी अनुभव भएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी व्यवसायी हुन् ।
एफवानसफ्टले नेपालको डिजिटल वित्तीय सेवाको विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ । इ–सेवा, फोनपे लगायतका डिजिटल भुक्तानी समाधानमार्फत कम्पनीले देशमा डिजिटल कारोबारलाई व्यापक बनाएको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कम्पनीले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई समेत गति दिएको छ । नवनियुक्त सीईओ पौडेलले कम्पनीको २२ वर्षे यात्रालाई थप मजबुत बनाउँदै प्रविधि नेतृत्व विस्तार गर्ने, सेवा सुधार गर्ने र दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य लिएको बताएका छन् । साथै उनले नेपालको फिनटेक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीले नेतृत्व हस्तान्तरणलाई सुशासन, निरन्तरता र नेतृत्व विकासको उदाहरणका रूपमा लिएको छ । तेस्रो दशकमा प्रवेश गर्दै एफवानसफ्टले आफ्नो संस्थागत क्षमता विस्तार गर्ने र देश तथा अन्तर्राष्ट्रिय बजारमा प्रभाव बढाउने लक्ष्य राखेको छ ।