काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा)ले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सञ्चालन गरेको छ ।
टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको प्राविधिक सहयोगमा काठमाडौंमा उक्त तालिम आयोजना गरिएको हो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ जनलाई विशेष प्राविधिक तालिम प्रदान गरिएको हो । तालिमका सहभागीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन् ।
विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ । कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने बताए । सीटीईभीटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रियाहरू अघि बढाइने जानकारी दिए । तालिम शृंखलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतीय सवारीसाधनसम्बन्धी ३ दिने तालिम लक्ष्मी हुन्डाइका प्राविधिक विशेषज्ञहरूद्वारा सञ्चालन गरिएको थियो । यसले सहभागीहरूलाई दुवै प्रविधिमा आधारभूत तथा व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ ।