काठमाडौं । नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने भएको छ । यसको लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ललितपुर महानगरलाई ११ थान फोटोन टीएम१ हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो । यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको कम्पनीको भनाइ छ । ‘ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका टीएम१ गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन् । यी प्रत्येक गाडी सहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन्’, कम्पनीले भनेको छ । यस गाडीको सहज र उपयोगी डिजाइनमा रहेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रदूषण कम गर्न महानगरले विशेष ध्यान दिएको बताए । उनले भने, ‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ । यस कारण हामी फोहोर संकलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ ।’
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओ अनिल बरालले पहिलो पटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणामा आफू प्रभावित भएको बताए । नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको उनको भनाइ छ । उनले भने, ‘फोटोनका लागि यो केवल सुरुवात मात्र हो। उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधारहरूमार्फत स्वच्छ र प्रदुषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैँ प्रतिबद्ध छौँ ।’ एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र एक सय ७१ भन्दा बढी फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ । योसँगै फोटोनको ईभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठूलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम रहेको कम्पनीको दाबी छ ।