काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकमा उनले राजीनामाको जानकारी गराएका हुन्। धितोपत्र ऐनअनुसार अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेकाले श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा पेश गर्ने जानकारी दिएका छन्। बैठकपछि सञ्चालकहरूलाई सम्बोधन गर्दै उनले सरकारलाई सहयोग गर्ने उद्देश्यले राजीनामा दिन लागेको बताएका थिए।
श्रेष्ठलाई सरकारद्वारा २०८१ साल मंसिर १० गते नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो। तर पछिल्लो समय उनी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएपछि विवादमा तानिएका थिए। सोही सन्दर्भमा सरकारले उनलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो।
यसैबीच, शुक्रबारको बैठकले हिमालयन सेक्युरिटिज ९ब्रोकर नम्बर ९६० सँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सञ्चालक समितिका अनुसार दीपक भट्ट र शाहिल अग्रवालको गैरकानुनी सेयर कारोबारमा संलग्नता देखिएपछि उक्त ब्रोकर कम्पनीसँग स्पष्टिकरण माग्ने निर्णय गरिएको हो। धितोपत्र बजारसँग सम्बन्धित पछिल्ला घटनाक्रमले नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठिरहेका बेला अध्यक्ष श्रेष्ठको राजीनामा घोषणा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।