काठमाडौं ।नेपाली कांग्रेसका दुई खेमाहरूमध्ये कुन चाहिँ आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गरेको छ।निर्वाचन आयोगले मान्यता विरुद्धमा शेरबहादुर देउवा सर्वोच्च गएका थिए तर उनको माग अस्वीकार गर्दै रिट खारेज गरिएको छ। अदालतको वेबसाइटमा रिट खारेज गरेको उल्लेख छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो निर्णय गरेको हो।यस फैसलासँगै गत पुसको अन्तिम साता तात्कालिक महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई सभापति चुनेयताको विवाद अन्ततः टुङ्गिएको छ।सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले बीबीसीसँग भने, "शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको दुईवटै रिट खारेज भएको छ र विशेष अधिवेशनले आधिकारिकता पाएको छ।"सर्वोच्च अदालतको फैसलामा पार्टीभित्र विधिवत विशेष महाधिवेशन माग भए पनि संस्थापन पक्षले नगरेपछि विधानसम्मत रूपमा विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेको उल्लेख छ। विशेष महाधिवेशनबाट पार्टीका सभापति चुनिएका गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको र थापाको हस्ताक्षरबाट उम्मेदवार चयन भइ निर्वाचन समेत सम्पन्न भइसकेको पनि अदालतले उल्लेख गरेको छ।फैसलामा भनिएको छ, "...उम्मेदवारको मनोनयन भइ निर्वाचनसमेत सम्पन्न भइ राजनीतिक वैधता पाई रिट निवेदन गर्दाको अवस्थामा हाल सारभूत परिवर्तन भईसकेको अवस्था...रिट निवेदनको रोहबाट हस्तक्षेप गरी हेर्न उपयुक्त देखिएन।" (बीबीसी)