यतिबेला वालेन्द्र शाह सरकारको मन्त्रीमण्डल मुलुकको धनाढ्यको रूपमा परिचित भएका छन् । उनी आफैसँग भएको सुन र सम्पत्ति सामान्य प्रकारको छैन भने यही मेसोमा सुनमा त होइन सम्पत्तिमा भने उनैलाई अरु मन्त्रीहरूले उछिनेका छन् ।
सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले दिएका प्रतिक्रियाअनुसार यो सरकार राणा र राजाका सरकारसँग दाज्न मिल्छ । सुन, नगद र जमिन तथा करोडौँका दर्जन आधा दर्जन भवनहरूले नै यस्तो जानकारी गराइरहेका छन् ।
गएको हप्ता देखाइएको यस्तो सम्पत्ति विवरण कुनै अनुसन्धानबाट खुलेका होइन । उनीहरूले नै गर्वका साथ लौ हेर हामी कति धनी छौँ भनेर देखाएका हुन् । सरकार गठन गर्ने दलको विचारमा मन्त्रीहरूको यस्तो सम्पत्ति विवरण परिवर्तनका लागि एउटा ऐतिहासिक फड्को हो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सहमहामन्त्री विपिन आचार्यले राजनीतिमा देशमा बल्ल मन्त्रीहको एउटा मानक बनेको भनेका छन् । उनका अनुसार च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारिताको प्रतीक मान्ने पाखण्ड अब बन्द हुनुपर्छ ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि टिप्पणी हुन थालेपछि उनले धनी हुनु कुनै पाप वा अपराध नभएको भन्ने आफ्नो मान्यता पनि अरुलाई बुझाउन खोजेको छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–
‘धनी हुनु कुनै पाप वा अपराध होइन । प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले, अनि राज्यप्रति कति पारदर्शी छ भन्ने मात्र हो । देश सधैँ अभाव र आँसुको कथा बेचेर मात्रै बन्दैन । एउटा बलियो र समृद्ध राष्ट्रको निर्माण ती मानिसहरूको जगमा पनि उभिन्छ, जसले समाजमा नयाँ गर्छन्, वैध रूपमा सम्पत्ति कमाउँछन् र पूर्ण जवाफदेही रहन्छन् । पारदर्शी समृद्धिको संस्कार नेपाली समाजले अब सिकाओस् ।’
यसअघि प्रधानमन्त्रीदेखि मन्त्रीहरूका सुनको थुप्रो र नगद तथा बंगला र जग्गाजमिनका अथाह सम्पत्ति विवरण प्रकट भएपछि त्यसको बचाउ गर्दै गृहमन्त्रीले ‘जो गरिब भएर मर्छ त्यो उसको दोष हो’ भनेर गरिब धनीबीचको एउटा वर्गीय रेखा कोरेर देखाएका थिए ।
यस्तो सम्पत्ति विरण सार्वजनिक भएको भोलिपल्ट विहानै गृहमन्त्री सुधन गुरूङले यस्तो सम्पत्ति विवरणमाथि व्यापक प्रश्न उठेपछि आफ्नो फेसबुकमा एउटा प्रतिक्रिया लेखे । त्यसमा भनिएको थियो–
‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनुअगाडि विनाभ्रष्टाचार कमाउनु पाप होइन । सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया !’
उनको यस्तो दाबी कस्तो हो भन्ने कही अघि सम्पन्न भएको जेन–जी आन्दोलनकी नेता रक्षा बमले आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत भन्न नमिल्ने भनी गृहमन्त्रीको तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो भन्ने भनाइप्रति गम्भीर आपत्ति जनाइन् । उनको फेसबुकमा यसो भनिएको छ–
‘फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो, आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन । आज हाम्रो देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् र तपाईँको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ । गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपनाजस्तै हुन्छ । जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईँहरूसँग यसको यथार्थपरक योजना नै छ ।
जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईँहरूले यो अवसर पाउनुभएको हो । आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईँलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’को संज्ञा दिनु तपाईँको पदीय मर्यादाविपरीत हो । बेलैमा सच्चिनुस् ।’
गृहमन्त्री गुरूङको सम्पत्ति कति
गृहमन्त्री गुरूङले आफ्नो सम्पत्ति विवरणमा बताएअनुसार धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा । बुबा दिलबहादुर गुरूङको नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा दुई सय २१ रोपनी पैतृक जग्गा । ८९ तोला सुन र ६ किलो चाँदी ।
लक्ष्मी सनराइज बैंकमा पाँच लाख ३५ हजार चार सय, नबिल बैंकमा ५६ लाख २५ हजार नौ सय ७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार पाँच सय ७४ रुपैयाँ । होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँबराबरको ३० हजार कित्ता सेयर । लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाखबराबरको ५७ हजार कित्ता सेयर । धितोपत्र बजारमा दुई करोड ७४ लाख ५६ हजार दुई सय रुपैयाँबराबरको सेयर । एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर । सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको । लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार गत असोज १६ गते ४७ लाख ९९ हजार रुपैयाँमा किनेको ।
सुनको मात्रा र मूल्य
हालको मर्यादाक्रमअनुसार
एक : वालेन्द्र शाह, प्रधानमन्त्री, श्रीमतीको नाममा एक सय ९० तोला सुन । यस दिनको बजार मूल्यअनुसार– पाँच करोड ६४ लाख ३० हजार रुपैयाँ ।
दुइ : डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री । ४५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– एक करोड ३३ लाख ६५ हजार रुपैयाँ ।
तीन : शिशिर खनाल, परराष्ट्रमन्त्री । २२ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ६५ लाख ३४ हजार रुपैयाँ ।
चार : विराज भक्त श्रेष्ठ, ऊर्जामन्त्री १५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ४४ लाख ५५ हजार रुपैयाँ ।
पाँच : सुधन गुरूङ, गृहमन्त्री । ८९ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– २ करोड ६४ लाख ३३ हजार रुपैयाँ ।
छ : सुनिल लम्साल, भौतिकमन्त्री । ३० तोला सुन । यस दिनको बजार मूल्यअनुसार ८९ लाख १० हजार रुपैयाँ ।
सात : सोविता गौतम कानुनमन्त्री । १५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ४४ लाख ५५ हजार रुपैयाँ ।
आठ : सिता बादी, महिला, बालबालिका मन्त्री । १८ तोला सुन यस दिनको बजर मूल्यअनुसार– ५३ लाख ४६ हजार रुपैयाँ ।
नौ : प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री । २५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ७४ लाख २५ हजार रुपैयाँ
दश : निशा मेहता स्वास्थ्यमन्त्री ३० तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ८९ लाख १० हजार रुपैयाँ ।
एघार : सस्मित पोखरेल शिक्षामन्त्री आमा र बुबाको नाममा अनुमानित २५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ७४ लाख २५ हजार रुपैयाँ ।
बाह्र : खडक राज (गनेश) पौडेल पर्यटनमन्त्री ११ तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ३२ लाख ६७ हजार रुपैयाँ ।
तेह्र : डा. विक्रम तिमिल्सिना सञ्चारमन्त्री । ११.५ तोला सुन ।
यस दिनको बजर मूल्यअनुसार– ३४ लाख १५ हजार ५ सय रुपैयाँ ।
चौध : गिता चौधरी कृषिमन्त्री । ५ तोला सुन । यस दिनको बजर मूल्यअनुसार–१४ लाख ८५ हजार रुपैयाँ ।
पन्ध्र :P गौरी कुमारी यादव उद्योगमन्त्री । १८० तोला सुन । यस दिनको बजर मूल्यअनुसार– ४ करोड ३७ लाख ६० हजार रुपैयाँ ।
सोह्र : रामजी यादव श्रममन्त्री । आफ्नो र श्रीमतीको नाममा गरी ५० तोला सुन । यस दिनको बजर मूल्यअनुसार– एक करोड ४८ लाख ५० हजार रुपैयाँ ।
उल्लिखित मन्त्री र तिनले आफुले बोकेका भनी देखाएका सुनका मात्रा मन्त्रीका नाम अहिले कायम रहेका मर्यादाक्रमअनुसार हुन् । यसमा सबैभन्दा धेरै सुनको मात्रा बोक्ने पदाधिकारी प्रधानमन्त्री आफैँ हुन् । प्रधानमन्त्रीले देखाएअनुसार उनकी श्रीमतीको नाममा एक सय ९० तोला सुन छ । यो भनेको सुनको यो मात्रा सार्वजनिक भएको दिन २९ चैत्रको बजार मूल्यअनुसार पाँच करोड ६४ लाख ३० हजार रुपैयाँ हो ।
यसपछि बढी सुन बोक्नेमा अहिलेको मर्यादाक्रमको पन्ध्रौँ नम्बरकी गौरी कुमारी यादव उद्योगमन्त्री पर्छिन् । उनीसँग एक सय ८० तोला सुन छ । तेस्रोमा पर्छन् गृहमन्त्री । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन छ । यस दिनको बजर मूल्यअनुसार यो दुई करोड ६४ लाख ३३ हजार रुपैयाँको हो ।
यसरी अहिलेको मर्यादाक्रममा एक जना प्रधानमन्त्रीबाहेक धेरै सुन बोक्ने व्यक्ति मन्त्रिपरिषद्को मर्यादाक्रममा धेरै तल परेको देखिएको भन्दै सुनको मात्राअनुसारको मर्यादाक्रम मिलाएर आजको दिनमा धेरै दुर्लभ मानिने सुनको सम्मान गरियोस् भनेर सामाजिक सञ्जालमा सुझावहरू आइरहेका छन् ।
युग भन्ने नामबाट सञ्जालमा यस्तो प्रस्ताव गर्नेका बुझाइमा यसो गरियो भने कुन मन्त्री बढी सुनवाला हो भन्ने यो मन्त्रिपरिषद् कायम रहुन्जेल आफैं र सधैँ जानकारी दिइरहने हुन्छ । जस्तोः प्रधानमन्त्री वालेन्द्रको कतै नाम आउनासाथ उनीसँग एक सय ९० तोला अर्थात् दुई केजीभन्दा बढी सुन छ भन्ने कसैले बताइरहनै पर्दैन । सुनको मात्राका आधारमा मर्यादा मिलाइएको खण्डमा अरु मन्त्रीले पनि यस्तै अवसर पाउँछन् उनीहरूसँग भएको सुनले पनि त्यत्तिकै सम्मान पाउँछ ।
आफ्ना सामाजिक सञ्जालमा यस्तो सुझाव दिनेहरूले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादामा यस्तो व्यवस्था गर्न वालेन्द्र सरकारको अविलम्ब ध्यान जाओस् पनि भनेका छन् ।