काठमाडौं । नेपाल धितोपत्र बोर्डका सञ्चालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको स्पष्ट पार्दै नयाँ सरकारका प्राथमिकता कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘सरकारलाई सहयोग गर्न र नयाँ कार्यदिशालाई मार्गप्रशस्त गर्न राजीखुसीले पद त्याग गरेको हुँ’, उनले पत्रमार्फत भनेका छन् । श्रेष्ठ २०८१ मंसिर १० गते मन्त्रिपरिषद्को निर्णयअनुसार धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । आफ्नो कार्यकालमा पुँजी बजारको दिगो विकास, पारदर्शिता र सुशासन प्रवद्र्धनमा केन्द्रित रहेर विभिन्न नीतिगत तथा संरचनात्मक सुधारहरू अघि बढाएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनका अनुसार बजारको तरलता र गहिराइ बढाउन मार्जिन लेन्डिङ कार्यान्वयन, आफ्टर–मार्केट अर्डर प्लेसमेन्ट प्रणालीको सुरुवात तथा सर्किट ब्रेकर व्यवस्थामा सुधार गरिएको थियो । साथै, ग्रीन बण्ड र परपेचुअल प्रिफरेन्स सेयरजस्ता नयाँ वित्तीय उपकरणको परिचय गराएर लगानीका विकल्प विस्तार गर्ने प्रयास गरिएको उनले बताएका छन् । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन ‘वित्तीय विवरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८२’ लागू गरिएको पनि उनले स्मरण गरेका छन् ।
राजीनामा पत्रमा श्रेष्ठले आफ्नो कार्यकालमा गरिएका सुधारहरूले आगामी दिनमा नेपालको पुँजी बजारलाई अझ सुदृढ र विस्तार गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले २०८३ वैशाख ५ गतेदेखि लागू हुने गरी पद त्यागेको जनाएका छन् । श्रेष्ठले आगामी दिनमा पनि नेपालको समावेशी, सुदृढ र दिगो पुँजी बजार विकासप्रति आफ्नो समर्थन र प्रतिबद्धता कायम रहने उल्लेख गरेका छन् ।
यद्यपि अध्यक्ष श्रेष्ठले राजीनामा दिएको भए पनि उनको राजीनामालाई सञ्चालक समितिको बैठकले स्वीकृत भने गरिसकेको छैन । सोही कारण यही वैशाख ५ गतेसम्म पनि धितोपत्र बोर्डको सञ्चालक समितिको अध्यक्षको पदमा उनकै नाम रहेको छ ।