विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले नक्कली बिल बीजक प्रयोग गर्ने १० वटा फर्मको अनुसन्धान टुग्याए पनि कारबाही प्रक्रिया अगाडि बढाएको छैन । कार्यलयले एक वर्षअगाडि नै अनुसन्धान सकेको भए पनि कारबाही अगाडि नबढाएको हो ।
आन्तरिक राजस्व कार्यालयले केही नक्कली बिल बीजक प्रयोग गरी कारोबार गरेको आशंकामा गर्दै गत वर्षदेखि नै दशवटा व्यवसायी फर्ममाथि अनुसन्धान सुुरु गरेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आन्तरिक राजस्व कार्यालय नै ध्वस्त भएपछि अब ती फर्मको नक्कली बील कारोबारको अनुसन्धान के गर्ने भन्ने अन्योल भएको बताइएको छ । अनुसन्धान सकेर कारबाही प्रक्रियाका लागि तयारी परेको फाइल जेनजी आन्दोलनमा जलेको स्रोतको भनाइ छ । कार्यालयले लामो समय लगाएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा ती दश फर्मको नक्कली बील र राजस्व छली फेला पारेर कारबाहीको प्रक्रिया चल्दै गर्दा नै जेनजी आन्दोलनका कारण कार्यालय नै ध्वस्त भएपछि सबै रोकिएको हो ।
आराकाले आर्थिक वर्ष २०७९/२०८० देखि हालसम्मको सबै व्यवसायी कारोबार छानबिन तथा अनुसन्धान गर्नुुपर्ने भन्दै दशवटा व्यवसायी फर्मका नाममा ७ दिने सार्वजनिक सूचना नै जारी गरेर कार्यालयमा आफूले गरेको कारोबारको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको थियो । तर ती व्यवसायी फर्मका सञ्चालक कोही पनि आन्तरिक राजस्व कार्यालयमा अहिलेसम्म पनि उपस्थित नभएको स्रोतले बताएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले गतवर्ष नै उपस्थित हुन सार्वजनिक सूचनामार्फत जानकारी गराइएका दशवटा व्यवसायी फर्महरुमा स्थायी लेखा नम्बर ६१०४१२७५८ को जय श्री ट्रेडर्स एन्ड सप्लायर्स प्रालि र विराटनगर ४ बस्ने सञ्चालक हेमन्त कुमार राई, ११३६३२२८० को भगवती हार्डवेयर एन्ड ट्रेडिङ्ग र विराटनगर ५ बस्ने सञ्चालक पुनित कुुमार यादव, ६१९०१५६४६ को अमाइराज इन्टरनेसनल ट्रेडिङ्ग र विराटनगर ३ बस्ने सञ्चालक निर्जला खड्का, ६१२३०८२४८ को हरेराम निर्माण सप्लायर्स र विराटनगर ७ बस्ने सञ्चालक जस्वन्त कुमार सिंह, ६०६५३७२५२ को सुस्तरी इन्टरप्राइजेज एन्ड बिल्डर्स प्रालि र विराटनगर ८ बस्ने सञ्चालक वाल कुमार राई, ६१०४०९८०४ को पिल्लर्स ट्रेडर्स एन्ड बिल्डर्स प्रालि र विराटनगर ७ बस्ने सञ्चालक जस्वन्त कुमार सिंह रहेका छन् ।
यसैगरी ६२११३८९८४ को ओम लक्ष्मीपार्वती हार्डवेयर एण्ड प्रालि र विराटनगर ३ बस्ने सञ्चालक विपल राई, ६०१३२६४९३ को सरस्वती माता हार्डवेयर एन्ड सप्लायर्स र विराटनगर ७ बस्ने सञ्चालक संजय कुमार मण्डल, ३०५७६३८६४ को भगवती हार्डवेयर एन्ड सप्लायर्स र विराटनगर ५ बस्ने सञ्चालक राज कुमार मण्डल र ६२०२८३७४६ को बी.एन. हार्डवेयर एन्ड सप्लायर्स र विराटनगर बस्ने सञ्चालक चन्दन कुमार साहलाई आराकाले सार्वजनिक सूचना गरी कार्यलयमा उपस्थित हुन निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि सम्पर्कमा नआएपछि अब यी सबै व्यवसायी फर्म र सञ्चालक माथि नै आवश्यक कानुनी प्रक्रिया के हुने भन्ने अनिश्चित बनेको छ ।
आन्तरिक राजस्व कार्यालयले सबै फर्मले गरेको व्यवसायीक कारोबारको अनुसन्धानका क्रममा सञ्चालकहरुले नक्कली कारोबार गरेको पाइएको थियो । उक्त फर्महरुबाट ठूलै रुपमा मिलेमतो गरेर कारोबार गर्ने र बिल बीजक तयार पार्ने जस्ता काम गरेको देखिएपछि फर्महरू माथि आराकाले अनुसन्धान गर्दै आएको हो । ती व्यवसायीक फर्म र त्यसका सञ्चालकलाई आयकर ऐन २०५८ को दफा ८३ (१) एवं मुअकर ऐन २०५२ को दफा २३ (२) बमोजिम अनुरोध गर्दासमेत सम्पर्कमा नआएपछि उपलब्ध तथ्यांक र प्रमाणका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन तयार हुँदासमेत आन्तरिक राजस्व विभागले अनुमति नै नदिएका पनि स्रोतको दाबी छ ।