काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँको प्राचीन सहरी बस्ती असं (असन)को मौलिकता फिर्ता गराउन पुनरुत्थान अभियान सुरु गरेको छ ।
असं डवलीमा शनिबार आयोजित एक कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अभियान शुभारम्भ गरेकी हुन् । कार्यक्रम अन्तर्गत असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, परम्परागत तथा रैथाने व्यापारिक क्रियाकलाप, समुदायमा परिचित गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले असन सहरी बस्तीमात्र नभइ काठमाडौँको इतिहास र पहिचान बोकेको स्थान भएको बताइन् । यसको मौलिक स्वरुप फर्काउने अभियानमा सहयोग गर्न उनले आग्रह गरिन् । घरबाहिर हजारौँ वर्षको इतिहास बोकेका जीवन्त वस्तु तथा संरचना छन् । तर, सडकमा गाडी भएका असुरक्षा महसुस गरेर कुनै पनि घरबाट बालबालिकालाई अभिभावकले बाहिर पठाउनुहुन्न । उनले भनिन्, ‘घर बाहिर नआएपछि आँगनमै भएका प्राचीन महत्वका वस्तुसँगको बालबालिका परिचित हुनै पाउँदैनन् । यसरी हाम्रा पूर्खाले सुम्पेको अमूल्य नासो सन्ततिका लागि महत्वहीन बन्ने दिन आउन सक्छ ।’ अमूल्य यी सम्पत्तिलाई मूल्य नै नभएको अवस्थामा पुग्नबाट बचाउन पुनरुत्थान अभियान थालेको उनले बताइन् ।
महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले असन क्षेत्रमा हरेक शनिबार रैथाने तथा सांस्कृतिक कार्यक्रम हुने बताए । यी क्रियाकलाप नेवार सभ्यतालाई निरन्तरता दिने अभ्यास पनि भएको बताए । उनले भने, ‘हामीले वडा नं. ५ नरःदे (हाँडीगाउँ)मा यस्तै कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेका छौँ । वडा २७ पछि वडा नं. २५ मा लैजाँदै छौँ । वडा ८ मा भौतिक पूर्वाधार निर्माण सकेर थालनी गर्छौँ ।’ कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन गरिएको थियो । यसरी सञ्चालन हुने क्रियाकलापले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने, पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउने महानगरपालिकाले अपेक्षा गरेको छ ।
असन नुनदेखि सुनसम्म, हरेक जाति समुदायका जन्मदेखि मृत्यु पर्यन्तका संस्कार, संस्कृति र चाडपर्वमा चाहिने सामान पाइने ठाउँ हो । यहाँ परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधिसमेत पाइन्छ । यस क्षेत्रमा धार्मिक, सामाजिक क्रियाकलाप हुने डवली, पाटी, वहाल, बही, चुक ननीहरु छन् । यस्ता सम्पत्ति नासिँदै गएको र भएका सम्पत्तिमा पनि नकारात्मक प्रभाव पर्न थालेपछि यसलाई बचाउन कार्यक्रम थालिएको महानगरले जनाएको छ ।
कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न रोकिएको थियो । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ, वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध गरिएको हो । असन आउने आगन्तुकका लागि धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी पार्किङ गर्ने व्यवस्था गरिएको थियो । कार्यक्रमको शुभारम्भ अगाडि अघि कःमिलाछी (दरबार हाइस्कुल छेउ) देखि असनसम्म, असनदेखि भोटाहिटी, महाबौद्ध स्तुप हुँदै क्यलःत्वाः (केलटोल) सम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो । यस क्षेत्रमा १३ वटा गुठि तथा परम्परागत बादन तथा गायन समूह छन् । पदयात्रामा परम्परागत समूहका सदस्यहरुले वादन तथा सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । क्यलःत्वाः पुगेपछि अभियानको निरन्तरताका लागि कार्यक्रम वडा २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो ।