काठमाडौं । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमानाकामा घरायसी सामग्रीमा शून्य भन्सार व्यवस्था गर्न आग्रह गरेको छ ।
नेपाल सरकारको पछिल्लो भन्सार नीतिका कारण सीमा क्षेत्रमा देखिएको तनाव व्यवस्थापन तथा भन्सार नीति सुधारका लागि समूहले सरकारसँग आग्रह गरेको हो । समूहका प्रवक्ता प्रमोद कुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल र भारतबीचको सदियौंदेखिको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई दृष्टिगत गर्दै सरकारको पछिल्लो भन्सार नीति अव्यवहारिक भएको बताएका छन् । हाल सरकारले सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ, त्यसले सीमावर्ती क्षेत्रका न्यून आय भएका आम उपभोक्तालाई चरम सास्ती दिएको उनले बताए । यसलाई तत्काल हटाइ घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सारको व्यवस्था गर्न उनले माग गरे । ‘हामी सामान्य नागरिक र घरायसी प्रयोजनका सामान ल्याउनेलाई दिइने सास्तीको विरोध गर्दछौं, तर व्यावसायिक रूपमा हुने तस्करीलाई पूर्ण रूपमा रोक्न सीमामा कठोर सुरक्षा र कानुनी कारबाहीको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं । वास्तविक उपभोक्ता र तस्करबीचको भिन्नता छुट्याइ संयमित प्रशासनको खाँचो छ,’ विज्ञप्तिमा भनिएको छ ।
सीमा क्षेत्रका बासिन्दाहरूको सहज पहुँचका लागि सीमा क्षेत्रमै सस्तो मूल्यको व्यवस्थित बजारको व्यवस्थापन गरिनुपर्ने माग गर्दै जनताको भान्सासँग जोडिएका अत्यावश्यक खाद्यान्न सामग्रीमा पूर्ण भन्सार छुट प्रदान गरी महँगीबाट राहत दिन संवाद समूहले अनुरोध गरेको छ । यसैगरी, संवाद समूहले नेपाल र भारतका सीमावर्ती सहरहरू तथा प्रमुख धार्मिक स्थलहरूमा दर्शन र भ्रमणका लागि आउने श्रद्धालुहरूका लागि ४८ घण्टासम्मको भन्सार फ्री सुविधा उपलब्ध गराउन माग गरेको छ ।