नेपालगन्ज । बर्दियामा बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आइतबार बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।
योग गुरुसमेत रहेका लामिछाने योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्रगतिको एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । नेपालगञ्ज नर्सिङहोममा घाइते दुवै जनाको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले घटनापछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।