काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स र नेपाल हस्तकला उद्योगको प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने समझदारी भएको छ । महासंघका कार्यक्रममा इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने छ ।
हस्तकला क्षेत्रका विभिन्न प्रवद्र्धनात्मक गतिविधिमा इन्स्योरेन्स कम्पनीलाई जोडेर लैजाने उद्देश्यका साथ शनिबार दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको कम्पनीले जानकारी दिएको छ । यो समझदारीअनुसार महासंघले वर्षभरी आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई साझेदार संस्थाका रूपमा प्रवर्द्धन गर्ने छ । इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महासंघका कार्यक्रमहरूलाई वार्षिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । यो सहकार्यले नेपाली हस्तकलाको बजार विस्तार र व्यवसायीहरूको सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा महासंघको तर्फबाट महानिर्देशक उत्तम प्रसाद देवकोटा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका छन् । हस्तकला क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन बीमा कम्पनीसँगको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास महासंघले लिएको छ ।