काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन मोडल ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपालमा सार्वजानिक गरेको छ ।
कम्पनीले ग्यालेक्सी ए सिरिजअन्तर्गत ल्याएको यी उपकरणमार्फत नेपाली बजारमा मध्यम–प्रिमियम सेग्मेन्टमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार, नयाँ मोडलहरूमा उन्नत क्यामेरा प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित फिचरहरू र सुधारिएको प्रदर्शन समावेश गरिएको छ । साथै, उपभोक्तालाई लक्षित गर्दै १२ महिनाको सट्टा २४ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा विस्तार गरिएको छ । नयाँ उपकरणहरू भोइस ट्रान्सक्रिप्सन, एआई सेलेक्ट तथा फोटो सम्पादनका लागि अपजेट ईरेजर फिल्टर जस्ता टुलहरू समावेश छन् । ए५७ ५जी मोडलमा थप रूपमा बेष्ट फेर र अटो ट्रिम फिचर उपलब्ध छन् ।
दुवै स्मार्टफोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ । कम्पनीका अनुसार इनहान्स आईएसपी र नाइटोग्राफी प्रविधिका कारण कम प्रकाशमा पनि स्पष्ट तस्बिर तथा भिडियो खिच्न सकिन्छ । एआई आधारित सबजेट रिकोनाइजेसन प्रणालीले पोट्र्रेट फोटोमा सुधार ल्याउने दाबी गरिएको छ । प्रदर्शनतर्फ, अपग्रेड गरिएको सीपियू, जिपियू र एनपियूले मल्टिटास्किङ र कन्टेन्ट प्रयोगलाई सहज बनाउने कम्पनीको भनाइ छ । पाँच हजार एमएएच ब्याट्री क्षमता रहेको यी डिभाइसहरू दुई दिनसम्म प्रयोग गर्न सकिने दाबी गरिएको छ । ए५७ ५ जीमा सुपर फास्ट चार्जिङ २.० तथा ठूलो भपोर चेम्बर प्रणाली समावेश गरिएको छ । दुवै मोडल आईपी६८ मापदण्डअनुसार पानी र धुलो प्रतिरोधी रहेको कम्पनीले जनाएको छ । साथै, ६ पुस्तासम्मको ओएस अपडेट र ६ वर्षसम्मको सुरक्षा अपडेट उपलब्ध गराइने बताइएको छ ।
कम्पनीका अनुसार ए५७ ५जी (१२/२५६जीवी)को मूल्य नेपालमा ८९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै ए३७ ५जी (१२/२५६ जीवी) को मूल्य ७९ हजार ९९९ रुपैयाँ, ८/२५६ जीवीको ७२ हजार ९९९ रुपैयाँ र ८/१२८ जिवीको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी फोनहरु २४ महिनाको ईएमआईमा मासिक १ हजार ६६४रुपैयाँदेखी दुई हजार ४४२ रुपैयाँको किस्ताबन्दीमा पनि किन्न सकिनेछ ।