काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उनी बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको स्रोतले जनाएको छ ।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल भ्रमणमा आएका हुन् । काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै सरकारका केही मन्त्रीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि उक्त जिम्मेवारी डोनाल्ड लु ले सम्हाल्दै आएका थिए । तीन दिने भ्रमणमा रहेका कपुर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । बालेन नेतृत्वको सरकार गठनपछि नेपाल आउने उनी सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ भएको जनाइएको छ ।