काठमाडौं । सरकारी कर्मचारीहरुले अब अर्धमासिक रुपमा तलबभत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई सोहीअनुसार भुक्तानीको व्यवस्था मिलाउन पत्राचार गरेको हो ।
यही वैशाख ४ मा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ व्यवस्था गर्न कार्यालयलाई पत्राचार गरेको सहसचिव डा. सुमन दाहालले जानकारी दिए । यो व्यवस्थापछि सरकारी कर्मचारीले १५/१५ दिनमै तलबभत्ता पाउनेछन् ।
‘राष्ट्रसेवक सरकारी कर्मचारीहरुको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रुपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रुपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन २०८३ वैशाख ४ (अर्थ मन्त्रीस्तर)को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।