काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनलाई कडाइका साथ अघि बढाउँदै बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा तरलता प्रशोचन गरेको देखिएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत एक हजार नौ सय ४५ अर्ब ४० करोड, स्थायी निक्षेप सुविधामार्फत ३१ हजार एक सय ३४ अर्ब ८५ करोड र राष्ट्र बैंक ऋणपत्रमार्फत दुई सय अर्ब गरी कुल ३३ हजार दुई सय ८० अर्ब २५ करोडबराबरको तरलता प्रशोचन गरेको हो ।
यसबीच ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह गरिँदा खुद तरलता प्रशोचन ३३ हजार दुई सय ६७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने मौद्रिक उपकरणहरूमार्फत कुल १६ हजार एक अर्ब २५ करोड मात्र तरलता प्रशोचन गरिएको थियो । यही तथ्याकको आधारमा चालू आवको पछिल्लो अवधिमा राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न अझ आक्रामक नीति अपनाएको देखिएको छ ।
राष्ट्र बैंकले चालू आवको पछिल्लो आठ महिनामा विदेशी वाणिज्य बैंकहरूसँगबाट अमेरिकी डलर चार अर्ब ६५ करोड खुद खरिद गरी छ सय ६५ अर्ब १० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलर तीन अर्ब २० करोड खरिद गरी चार सय ३३ अर्ब ७७ करोड मात्र तरलता प्रवाह गरिएको थियो ।
अमेरिकी डलर बिक्रीतर्फ पनि वृद्धि देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा दुई अर्ब ६२ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब ७४ अर्ब ३५ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्ष सोही अवधिमा दुई अर्ब ५४ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब ४५ अर्ब ४८ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो । सोही खरिदबिक्रीलाई आधार मान्दा राष्ट्र बैंकले मौद्रिक उपकरणहरू तथा विदेशी विनिमय बजारमार्फत तरलता व्यवस्थापनलाई सक्रिय रूपमा सञ्चालन गर्दै बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न कडा कदम चालेको देखिएको छ ।