काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३को पहिलो आठ महिनामा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबार उल्लेख्य रूपमा घटेको देखिएको छ । यस अवधिमा वाणिज्य बैंकहरूबीच छ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकबाहेक) एक खर्ब १४ अर्ब १५ करोड गरी कुल सात खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूबीच ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूबीच एक खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब नौ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको थियो । यसले चालू वर्षमा अन्तरबैंक कारोबार उल्लेख्य रूपमा संकुचित भएको देखिन्छ, जसले बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको संकेत गर्छ । राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबारसँंगै ब्याजदरहरूमा पनि गिरावट देखिएको छ । २०८१ फागुनमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ९३ प्रतिशत रहेकोमा २०८२ फागुनमा घटेर दुई दशमलव ४७ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर तीन प्रतिशतबाट घटेर दुई दशमलव ६८ प्रतिशतमा सीमित भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरूको आधार दर पनि पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ । २०८२ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर पाँच दशमलव १० प्रतिशत, विकास बैंकहरूको सात दशमलव १७ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ६८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी दरहरू क्रमशः छ दशमलव ३४ प्रतिशत, आठ दशमलव ४२ प्रतिशत र नौ दशमलव ३२ प्रतिशत रहेका थिए । निक्षेप र कर्जाको ब्याजदरमा समेत पछिल्लो समय गिरावट आएको छ । २०८२ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ४५ प्रतिशतमा झरेको छ भने विकास बैंक र वित्त कम्पनीहरूको क्रमशः तीन दशमलव ८८ प्रतिशत र चार दशमलव ८६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी दरहरू उच्च थिए । यसैगरी, कर्जाको ब्याजदर पनि घटेको छ । २०८२ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर छ दशमलव ९० प्रतिशत, विकास बैंकहरूको आठ दशमलव १६ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ४१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी दरहरू क्रमशः आठ दशमलव ४० प्रतिशत, नौं दशमलव ७८ प्रतिशत र १० दशमलव ५३ प्रतिशत थिए । समग्रमा अन्तरबैंक कारोबारमा कमी र ब्याजदरमा गिरावटले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको देखिएको छ ।