काठमाडौं । काठमाडौँ महानगरपालिकाले टक्सार रानीबन जेवीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । निर्माण मापदण्ड उल्लङ्घन गरेको भन्दै महानगरले निर्माण कम्पनीलाई जरिवाना तिराएको हो ।
बसुन्धरा क्षेत्रस्थित नदी किनारामा रिटेनिङ पर्खाल निर्माणका क्रममा गुणस्तरहीन काम भएको गुनासो आएपछि महानगरले छानबिन गरी कारबाही गरेको जनाएको छ । स्थानीय बासिन्दाले निर्माण कार्यमा कमजोरी रहेको भन्दै उजुरी दिएपछि वडा नं. ३ का अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा, नगर प्रहरी नायव उपरीक्षक प्रकाश पण्डितसहितको टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा जग कमजोर बनाइएको, सिमेन्ट प्रयोग गर्नुपर्ने स्थानमा माटो प्रयोग गरिएको तथा पुराना ढुङ्गा सफा नगरी प्रयोग गरिएको पाइएको थियो । सोपश्चात् निर्माण कम्पनीका प्रतिनिधिलाई महानगर प्रहरी बलमा बोलाएर सोधपुछ गरिएको थियो ।
छलफलका क्रममा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको र ढुङ्गा राम्रोसँग नपखाली प्रयोग गरिएको स्वीकार गरेपछि महानगरले तत्काल जरिवाना गर्ने निर्णय गरेको हो । यसैबीच, सार्वजनिक निर्माण विभागका इञ्जिनियरहरूले निर्माण सामग्रीको नमूना संकलन गरी आइतबार नै प्रयोगशाला परीक्षणका लागि पठाएको र परीक्षण प्रतिवेदन आएपछि थप निर्णय लिने महानगरले जनाएको छ । उक्त आयोजना सार्वजनिक खरिद प्रक्रियामार्फत सो कम्पनीले प्राप्त गरेको हो । सम्झौताअनुसार निर्माण कार्य २०८४ असोज ३० गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।