काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँट कार्य सम्पन्न गरेको छ ।
कम्पनीले कुल जारी पुँजी एक अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार आठ सय रुपैयाँको ४२ लाख ३० हजार छ सय ६८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा तीन लाख तीन हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।
स्थानीय बासिन्दाका लागि २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो । उक्त अवधिमा स्थानीयतर्फ एक लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार तीन सय छ जनाबाट आवेदन परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै समूहको सेयर बाँडफाँट वैशाख ४ गते शुक्रबार सम्पन्न भइसकेको छ । बाँडफाँटअनुसार स्थानीय बासिन्दाले १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले तीन लाख तीन हजार ६७ कित्ता सेयर प्राप्त गरेका छन् ।
बाँडफाँटमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन् भने बाँडफाँटमा नपरेका आवेदकहरूको रकम वैशाख सात गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ ।