काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ५३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा बैंकले सात अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७ दशमलव शून्य तीन प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी भने ६६ दशमलव ३५ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी २६ दशमलवव २० प्रतिशत र सञ्चालन नाफा २८ दशमलव ४२ प्रतिशतले घटेको छ । वितरणयोग्य नाफा पनि ३० दशमलव १२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।
नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानी एक रुपैयाँ ५९ पैसा घटेर तीन रुपैयाँ ९७ पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ एक सय १५ रुपैयाँ ८४ पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात ६७ दशमलव ४४ गुणा रहेको छ । हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ४२ करोड पाँच लाख रुपैयाँ सञ्चित रहेको छ ।