काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणमा छन् । उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यसैबीच, उनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान ६ बजे नेपाल टेकेका उनले लामिछानेसँग अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको रास्वपाका एक नेताले जानकारी दियो । कपुर स्वयम्ले भेटका क्रममा लामिछानेसँग रास्वपका प्राथमिकता र अमेरिका–नेपाल सहकार्यबारे छलफल गरेको उल्लेख गरेका छन् ।
साथै उनले अमेरिकी उद्योग प्रमुखहरुसँग पनि छलफल गरेका थिए । त्यसमा डिजिटल पूर्वाधार, अमेरिकी प्रविधि आदानप्रदानबारे छलफल गरेको बुझिएको छ । उनी गत अक्टोबरमा मात्र सहायक विदेशमन्त्री नियुक्त भएका थिए । उनलाई वर्तमान अमेरिकी प्रशासनले दक्षिण एसिया हेर्ने जिम्मेवारी दिएकाले पनि कपुरको भ्रमणलाई चासोसाथ हेरिएको छ ।
नेपालमा नयाँ सरकार गठनको एक महिना नबित्दै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको हो ।