काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले ३ दिनभित्र बसपार्कभित्रबाट मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । यसअघि कामपाले चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरी लामो तथा छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरेको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न सोमवार बसेको बैठकले महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीहरुलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिएको हो । तीन दिनभित्र बसपार्कबाट सेवा नदिए कानुनअनुसार कारबाही गर्ने जनाइएको छ । बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरुले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो ।
कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिएकी छिन् । बसपार्कको समस्यासँगै ठमेल लगायतका रात्रीकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनी प्रदुषणले असर गरेको, स्पालगायतका व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्राबास सञ्चालकहरुबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेको उनले बताइन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आफ्नाआफ्नै क्षेत्राधिकार रहेकोले एकै पटक अनुगमन जाने र आफ्नाआफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउने उनको भनाइ छ ।
अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानुपर्ने बताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दीविरुद्धको अभियानले अनधिकृत काम गर्नेहरुको संख्यामा कमी आएको बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए ।
प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सयवटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको शाहको भनाइ छ । ल्होत्से बहुउद्देश्यीय प्रा.लि. का मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ ।
बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।