काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा १ सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो ।
आयोजनाको विद्युतगृहमा दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७ सय ३० मिटरमाथि रहने छ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६ सय १७ दशमलब ८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १ सय ५० अर्धदक्ष र ३ सय ५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् । विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ ।
आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको भए पनि पछिल्लोपटक अर्धजलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाको ग्रस हेड २ सय ३७ दशमलब ९ मिटर र रेटेड नेट हेड २ सय २२ दशमलब ३ मिटर रहेको छ ।