काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा टिकिरहन बीमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिएकी छिन् ।
सोमबार केरा उत्पादक किसानसँगको भेटमा उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भिर रहेको बताइन् । उनले नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनुपर्ने र आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएकी थिइन् । विश्वबजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको उनको भनाइ थियो । ‘अभावको बहानामा मूल्यवृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ । त्यसका लागि सरकारले पनि आवश्यक सतर्कता अपनाइरहेको छ’, उनले भनिन् ।
किसानहरूले भने बीमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासो राख्दै बीमा भुक्तानीमा ढिलाइ, ‘प्रिमियम’ तिरे पनि क्षतिपूर्ति नपाइएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएकालगायत विषयमा ध्यानाकर्षण गराएका थिए । केराखेतीमा संलग्न किसानले सीमामा कडाइ, मल अभाव र बजारमूल्यमा अस्थिरताका कारण समस्या भोग्नुपरेको गुनासो गरेका थियो । छलफलमा सहभागी कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गरे । चि तवनका जनकराज पन्तले जग्गा व्यवस्थापन र नदी किनारमा बगरखेती प्रवर्द्धन गर्न सुझाव दिएका थिए । किसानहरूले ५० लाख रुपैयाँसम्मको लगानीमा ८० प्रतिशत बीमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बीमा दाबी भुक्तानी नहुने समस्या रहेकाबारे जानकारी गराइएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बीमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको बताए । उनले मल आपूर्ति बढाउन, उत्पादन सुधारलगायत विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।