दोलखा । लसुनको उचित मूल्य नपाएपछि यहाँका कृषक मारमा परेका छन् । गतवर्ष भन्दा यसवर्ष केजीकै ५० रुपैयाँ कममा लसुन बेच्नुपरेको यहाँका किसानको गुनासो छ ।
जिल्लाको तल्लो क्षेत्रमा यतिबेला हिउँदे लसुनको बिक्री गर्ने बेला भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गेलाई लसुन खेतीले उर्वर मानिन्छ । तर यहाँ उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । गत वर्ष तीनसय रुपैयाँ प्रतिकेजीमा लसुन बिक्री गरेका स्थानीयले यसपटक प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गरेका छन् । प्रतिकेजी ५० रुपैयाँ सस्तोमा लसुन बेच्नु परेको वैतेश्वर–३ स्थानीय रबिन थापाले बताए । यहाँका १२ जना किसानले गतवर्ष ७ क्विन्टलको लसुन बिक्री गरेका थिए । यहाँ किसानहरुले सिजनअनुसारको फलफूल तथा तरकारी सागसब्जी उत्पादन गर्ने गरेका छन् ।
त्यसैगरी धेरै लसुन उत्पादन गर्ने वडामा गणना हुँदै आएको छ । खासगरी मिर्गेको लहरेमाने, कोलाफाट, जैनालु, भुमेथान, चिलाउनेखड्ग, पाइले पात्ले, मजुवा तथा यार्सा र निम्कोट लप्सेबाट वार्षिक एक करोड हाराहारीमा लसुनमात्र निर्यात हुँदै आएको छ । गत वर्ष किसानले एक करोड रुपैयाँ बराबरको लसुन काठमाडौं निर्यात गरेका थिए । यसपटक पनि सोही हाराहारीमा लसुन निर्यात हुने उनीहरुको भनाइ छ ।