काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनी लिमिटेडले यही वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसअघि कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्य बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोमध्ये सात लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । अब बाँकी सेयरमध्ये एक लाखपाँच हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । यो सबै छुट्याइसकेपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
यो साधारण सेयरमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताहरूले वैशाख २२ गतेभित्र आवेदन दिनुपर्ने छ । कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।