काठमाडौं । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको सुरुवात गरेको छ ।
यस प्रकारको सेवा यूनियनपे इन्टरनेसनलसँगको सहकार्यमा फोनपेमार्फत लागू गरिएको हो । यस सुविधाको सुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । विशेष गरी चीनलगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरू यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ । सन् २००२ मा स्थपना भएको यूनियनपे विश्वका सबैभन्दा ठूला भुक्तानी सेवा प्रदायकहरू मध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्डहरू जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । यस सेवाको सुरुवातसँगै हाल नेपालमा प्रदान भइरहेको क्यूआर पूर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । साथै बैंक डिजिटल नवप्रर्वद्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन बैक प्रतिबद्ध रहेको छ ।
हालै मात्र बैकले वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्ममाफर्त वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथामार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्ने सुविधा समेत बैंकले घोषणा गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ५० हजार भन्दा बढी ग्राहकहरू रहेका छन् ।