काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा पुनः दिवस कुमार सापकोटालाई नियुक्त गरेको छ । कम्पनीले उनलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको हो । यस निर्णयले संस्थागत नेतृत्वको निरन्तरतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । सन् २०२१ देखि फोनपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी फोनपेको प्रारम्भिक टोलीका सदस्यसमेत हुन् । उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ)को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि सापकोटाको नेतृत्वमा फोनपेले उल्लेखनीय वृद्धि हासिल गरेको कम्पनीले जानकारी दिएको छ । प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकको रूपमा सुरु भएको संस्था अहिले नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ ।