काठमाडौं । वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा च्यारिटी कार्यक्रम आयोजना गरिएको छ ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पु¥याउने उद्देश्यले ह्यारोस्थित ब्लु रुममा च्यारिटीमा सांस्कृतिक प्रस्तुतिका साथै राफल ड्र र अक्शन पनि गरिएको थियो । भर्चुएल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. भगवान् कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालभरका बालबालिकाका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए । उनले गएको तीन दशकमा मातृ मृत्यु दर तथा शिशु मृत्यु दरमा उल्लेख्य सुधार भएपनि विकसित मुलुकहरुको तुलनामा नेपालमा बाल मृत्यु दर अझै उच्च रहेको उल्लेख गरे । उनले गुणस्तरीय मात्र नभई सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार तीन वर्षदेखि कोशी प्रदेशअन्तर्गत दमकमा बाल अस्पताल संचालन भइरहेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका हेपाली हाइटमा केन्द्रीय अस्पताल निर्माणाधीन रहेको छ ।