तेहरान । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताए । उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन । इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो ।
दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिए । उनले इरानले होर्मुजमार्फत अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाए ।
शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो । विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने संकेत दिएको हो ।
‘यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ’, गालिबफले चेतावनी दिए । यसैबीच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् । तनावबीच इरानको रिभोलुसनरी गाड्र्सले अनुमतिविना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ । छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्यांकरहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्यांकले देखाएको छ ।
समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्यांकरमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ । अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन ।
यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।