काठमाडौं । नेपाल धितोपत्र लगानीकर्ता संघले सर्किट ब्रेकको नयाँ व्यवस्थामा ‘सेटिङ’ भएको आरोप लगाउँदै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) विरुद्ध संघीय संसद्को सार्वजनिक लेखा समितिमा उजुरी दिएको छ । संघले ५६ लाखभन्दा बढी लगानीकर्ताको हितविपरीत सीमित स्वार्थ समूहलाई लाभ पुग्ने गरी निर्णय गरिएको भन्दै समितिमा उजुरी दिएको हो ।
नेप्सेले वैशाख ७ देखि लागू गरेको नयाँ व्यवस्थाअनुसार पहिलो कारोबारको मूल्य सीमा दुई प्रतिशतबाट पाँच प्रतिशत र सेयर मूल्य उतारचढाव सीमा १५ प्रतिशतसम्म पुर्याइएकोमा संघले आपत्ति जनाएको छ । यसले प्रचलित ऐन–नियम उल्लंघन गरेको दाबी गर्दै संघले नियामक निकायहरूले मनोमानी ढंगले कार्यविधि बनाएको आरोप लगाएको छ ।
संघले सेयर बजार स्वार्थ समूहको प्रभावमा परेको उल्लेख गर्दै दोषीलाई निलम्बन, उच्चस्तरीय छानबिन र गैरकानुनी नीतिहरू खारेज गरी बजारलाई पारदर्शी बनाउन माग गरेको छ ।