काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले कम्पनीको भविष्यसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पारित गर्दै एक बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सो अनुसार कम्पनीले स्वीकृतिका लागि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिनेछ ।
सभाले कम्पनीलाई होल्डिङ कम्पनीमा रूपान्तरण गर्दै नाम परिवर्तन गरी ‘युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड’ राख्ने प्रस्ताव पनि पारित गरेको छ । यसका लागि प्रबन्धपत्र र नियमावली संशोधन गरिने छ । हकप्रदबाट उठ्ने रकम २३ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गरिने र यसको निर्माण हाल २५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । प्रति मेगावाट लागत करिब १७–१७.५ करोड रुपैयाँ रहने बताइएको छ । कम्पनी हाल पूर्ण रूपमा ऋणमुक्त भएको र अब दोस्रो बजारमा समेत लगानी गर्न पाउने जनाएको छ । सभामा उपस्थित सेयरधनीहरूले कम्पनीका यी योजनाहरूलाई समर्थन जनाएका छन् ।