पाल्पा, पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बुटवलका दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। यसअघि जोनल फार्मेसीका सन्ध्या बस्नेत, निलम घर्ती मगर र इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। प्रहरीका अनुसार घटनाबारे बुझ्नका लागि बोलाएपछि दुवै चिकित्सक मंगलबार साँझ आफैं उपस्थित भएका थिए। जिल्ला अदालतबाट अन्य तीन जनालाई तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने घटनामा थप संलग्नता देखिए अन्यलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–२ ख्याहाकी गीता पाण्डे चैत २७ गते करिब १२ हप्ताको गर्भ परीक्षणका लागि खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ चिकित्सकले गर्भ असामान्य भएको बताउँदै वैशाख ४ गते पुनः बोलाएका थिए।वैशाख ५ गते श्रीमान् प्रकाश पाण्डेसहित पुगेकी गीतालाई नर्सिङ होमले बुटवलस्थित जोनल फार्मेसीमा पठाएको थियो। त्यहाँ १६ हजार रुपैयाँ खर्च लाग्ने भन्दै दुई हजार अग्रिम लिएर औषधि दिइएको र अर्को दिन आउन भनिएको थियो। पछि उनलाई इन्दुलेखा स्वास्थ्य क्लिनिकमा लगेर गर्भपतन गराउने क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेको परिवारको आरोप छ। श्रीमान् प्रकाशका अनुसार उपचारका क्रममा उनलाई कुनै जानकारी नदिई बेहोस अवस्थामा लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका श्रीमान्ले उपचारमा गम्भीर लापरवाही भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन्। उनले उपचारसम्बन्धी कागजातसमेत लुकाउने प्रयास गरिएको दाबी गरेका छन्।गीता पाण्डे रक्तसञ्चार सेवा केन्द्रमा कार्यरत थिइन् र उनी पाँच वर्षअघि पहिलो सन्तान जन्माएपछि दोस्रो पटक आमा बन्ने तयारीमा थिइन्।